चुमनुब्री गाउँपालिका डढेलो मुक्त क्षेत्र घोषणा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १९ २०८०
5.6K
SHARES

१९ असार काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । ‘डढेलोबाट बनजंगलको नाश मात्र हुने नभई यसबाट पर्ने वातावरणीय असरले जलबायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ, उहाँले भन्नुभयो, ‘यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलो मुक्त गाउँपालिका घोषणा गरिएको हो ।’

गाउँपालिका क्षेत्र भित्रका जंगलहरुमा शिकारीहरुले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रणका लागि कडाई गर्नुपर्ने अबस्था आएको उहाँले बताउनुभयो । ‘बन्यजन्तुको शिकार खेल्ने अन्य ठाउँ भन्दापनि सिर्दीबासमा यसको समस्या बढी देखिएको छ, अध्यक्ष लामाले भन्नुभयो, ‘शिकारीहरुले सोही क्रममा डढेलो लगाउने र बनजंगलको बिनास गर्ने गरेकाले गाउँपालिकाले अब डढेलो मुक्त क्षेत्र नै घोषणा गरी डढेलो नियन्त्रणलाई कडाईका साथ कार्यान्वयन गर्न लाग्नेछ ।’

गाउँपालिकालाई प्रदुषण मुक्त क्षेत्र घोषणा भइसकेकाले त्यसको कार्यान्वयनका लागि पनि चुमनुब्रीलाई पहिलाडढेलो मुक्त गाउँपालिका बनाउन आबश्यक रहेको उहाँको भनाई छ । घोषणा कार्यान्व्यनका लागि मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) संग पनि समन्वय गरेर गाउँगाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको उहाँले बताउनुभयो ।

घोषणा कार्यान्वयनका लागि डढेलोका कारण पुग्ने क्षति, वातावरणमा पुग्ने असर, बन्यजन्तुको बिनास लगायतका बिषय गाउँगाउँमा जनचेतना फैलाउनु आबश्यक छ, अध्यक्ष लामाले भन्नुभयो, ‘ भौगोलिक बिकटता भएको गाउँपालिका भएकाले अब मनास्लु क्षेत्रसंगको समन्वय र सहकार्यमा ड्रोन मार्फत पनि सचेतना फैलाउने र टोलटोलमा सचेतना प्रदान गर्ने गरी आबश्यक छलफल भइरहेको छ ।’

प्रदुषणमुक्त गाउँपालिका निर्माणका लागि पालिका भित्रका खाली जमिनहरुमा बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करिब एकसय तीन बर्ष अघिदेखि शान्ति र अहिसांको क्षेत्रको रुपमा प्रख्यात रहेको छ ।

अहिंसाको क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुदैन । बि.स १९७७ को वुद्धजयन्ती अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामुहिक प्रतिवद्धता गराएर अहिंसाको क्षेत्र घोषणा गर्नुभएको थियो । सोही भूमिलाई गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समेटेर गाउँपालिकालाई नै डढेलो मुक्त पालिका घोषणा गरेको हो ।