बैंकहरूले आफैँ निर्धारण गरे ब्याजदर


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ३१ २०८०
2.1K
SHARES

३१ असार काठमाडौं । वाणिज्य बैंकहरूले आउँदो साउन महिनाका लागि ब्याजदर तोकेका छन् । असार मसान्तसम्म बैंकहरूले नेपाल बैंकर्स संघले गरेको सहमतिअनुसार ब्याजदर निर्धारण गरेका थिए । साउनदेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् । आधाभन्दा बढी बैंकहरूले आाफूले दिँदै आएको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । केहीले स्थिर राखेका छन् । केही बैंकले भने ब्याजदर बढाएका छन् । यो असारमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिएका छन् । यसलाई बढाएर एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि १०.९८ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो ।

यस्तै, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले साउनदेखि मासिक १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् । प्राइम कमर्सियल बैंकले तीन महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिनेछ । साउनदेखि नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ । यो बैंकले असारमा रेमिट्यान्स व्यक्तिगत मुद्दतीमा १०.९९ प्रतिशत दिँदै आएको ब्याजदर साउनदेखि बढाएर ११.४९ प्रतिशत पुर्‍याएको छ । कुमारी बैंकले पाँच वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक १०.०१ प्रतिशत ब्याज दिने जनाइएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि सबैभन्दा कम ब्याजदर दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक ८.९५ प्रतिशत ब्याज दिने जनाइएको छ ।   तरलता कम हुन थालेसँगै नेपाल बैंकर्स संघले बैंकहरूबीचको अस्वस्थ प्रतिस्पर्धा घटाउन भन्दै भद्र सहमति गरेको थियो । सोपश्चात् जेठसम्म बैंकर्स संघकै निर्णयमा बैंकहरूले ब्याजदर तोक्दै आएका थिए ।