नियुक्तिपछि ल्हारक्याल लामाले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २२ २०८०
2.4K
SHARES

२२ साउन काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरुद्ध लाञ्छना लगाउने गिरोह सधैँ संगठित रूपमा सक्रिय हुने गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए ।

उनले देशका लागि आफूले केही गर्न खोज्दा सदैव अवरोध गर्न खोजेको जिकिर गरे । उनले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति आफू आभारी भएको पनि बताए । आफूले पाएको जिम्मेवारी पूरा गर्ने उनकव भनाइ छ।

आफू हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएर बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै अपराध हो भने आफू अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने उनले बताए  ।

केही मान्छेहरूले लगाएका आरोपहरू राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरूको अनुसन्धानबाट आफूले पटकपटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् भन्दै उनले प्रश्न गरे ।