आज एक महिने ‘गुँला पर्व’ शुरु
३२ साउन काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।
आजबाट शुरु भएको ‘गुँला पर्व’को अवसरमा स्वयम्भूमा मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । ‘गुँला पर्व’ विशेष गरी बौद्धमार्गीको पर्व भए पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् ।पर्वमा बौद्धमार्गी विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।
पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागी हुन पुग्नेका जेठुनारायण महर्जनले खेतीपाती सकेर मानिसहरू फुर्सद हुने र अन्य चाडबाडलाई पनि मध्यनजर गरी खुसीयाली साट्ने पर्व रहेको बताए । उनले हरेक दिन अब एक महिनासम्म टोल टोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने बताए । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिएको बताए ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।