पहिलो महिनामै भएन लक्ष्य अनुसार कर संकलन


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३ २०८०
1.8K
SHARES

३ भदौ काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना नै सरकार कर संकलन लक्ष्य पूरा गर्न असफल भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा लक्ष्यको ८२.३३ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।  विभागका अनुसार चालु आवको साउन महिनामा ४० अर्ब ३४ करोड ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । विभागले यस अवधिमा ४९ अर्ब सात लाख २ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

विभागले गत साउन महिनामा आयकर शीर्षकबाट १३ अर्ब २६ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८२.४४ प्रतिशत मात्र हो । यस शिर्षकमा १६ अर्ब ९ करोड १३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।

त्यस्तै, विभागले घरबहाल कर शीर्षकबाट ७१.५१ प्रतिशत मात्रै कर संकलन भएको छ । यस अवधिमा सो शिर्षकबाट ३१ करोड ३ लाख ९८ हजार रुपैयाँ राजस्व संलन गर्ने लक्ष्य लिएकोमा ५२ करोड १९ लाख ६० हजार रुपैयाँ मात्र संकलन भएको विभागले जनाएको छ ।

ब्याजतर्फ भने लक्ष्यको नजिक पुगेको देखिन्छ । यस अवधिमा यो शिर्षकमा लक्ष्यको ९९.३९ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, गत साउन महिनामा भ्याटबाट ११ अर्ब ५७ करोड ३५ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ भने अन्तशुल्क शीर्षकबाट ७ अर्ब ७० करोड ८५ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको विभागको तंथ्याङकमा उल्लेख छ ।

विभागले स्वास्थ्य सेवा तर्फ लक्ष्यको सर्वाधिक कम ६५.१० प्रतिशत राजस्व संकलन भएको छ ।  यस शीर्षकबाट ६५ करोड ७१ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । शिक्षा शीर्षकबाट भने लक्ष्य भन्दा निकै बढी राजस्व संकलन भएको छ ।

विभागले शिक्षा शीर्षकबाट यस अवधिमा २० करोड ४५ लाख एक हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसअनुसार शिक्षा शीर्षकबाट २८ करोड ९६ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।