सरकारले १५ प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २७ २०८०
1.7K
SHARES

२७ भदौ काठमाडौं । सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।

‘चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्छ । मन्त्रालयले २० हजार टन चिनी आयात गर्न दुई कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको छ,’ शर्माले भने, ‘अब १५ प्रतिशत भन्सार महसुल छुटमा चिनी ल्याउन पाउने छन् ।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो ।

तर, नेपाली बजारमा चिनी रहेको र बजार मूल्यमा हस्तक्षेपका लागि सो परिमाणमा चिनीको भन्सारमा सहुलियत दिएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाली बजारमा अहिले चिनीको थोक मूल्य १०५ रुपैयाँ छ । तर, बजारमा खुद्रामा ११५ रुपैयाँसम्ममा चिनीको बिक्री भइरहेको छ ।