भृकुटीमण्डपमा असोज १० गतेदेखि फर्निचर एक्स्पो हुने
४ असोज काठमाडौं । भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फर्निसिङसम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यका साथ सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएकाे हो ।
फर्निचर एक्स्पो असोज १० गतेबाट १४ गतेसम्म सञ्चालन हुने छ । ५ दिनसम्म चल्ने एक्स्पोमा अवलोकनकर्तालाई मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर तथा फर्निसिङ्गका उत्पादनका बारेमा जानकारी दिने पनि बताइएकाे छ । संघका अध्यक्ष दिनेश अग्रवालले प्रदर्शनीले फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि उपलब्ध गर्ने योजनासहित एक्स्पो आयोजना गरिएको बताए ।‘आर्थिक गतिविधिहरू सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौं, मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको छ,’ उनले भने ।
प्रदर्शनीमा फर्निचर फर्निसिङ्का सामाग्रीको मात्र प्रदर्शनी नगरी त्यसको उपयोगिता, प्रयोग विधि बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी दिइने अग्रवालले बताए ।एक्स्पोमा १०० भन्दा बढी स्टलहरू रहने छन् भने प्रदर्शनी अवधिभर ५० बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ ।
नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्न एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवर्द्धनको अवसर पाउने अपेक्षा पनि आयोजकको छ ।
एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरूको सहभागिता रहनेछ । जहाँ अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि दिइने बताइएको छ ।
प्रदर्शनीमा मोडुलर किचन, आधुनिक बेडरुम,बाथरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पोट, पर्दा, म्याट्रेस, डोरम्याट, डेकोरेशन सामाग्री, होम डेकोर, विल्डिङ्ग मेटेरिय, अफिस, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारको साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श आदि हुने छन् । संघका अनुसार अवलोकनकर्ताले प्रदर्शनी अवधिभर निःशुल्क अवलोकन गर्न सक्ने छन् ।