सटर खाली गरेर शहर छाड्दै व्यवसायी
१३ कार्तिक काठमाडौं । ठूला चाडबाडको छेकोमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरबाट हजारौं व्यवसायी विस्थापित भएका छन् । यसरी विस्थापित हुनेमा बजारलाई चलायमान बनाउन मूख्य भूमिका खेल्ने खुद्रा व्यापारीहरूको संख्या अधिक देखिएको छ । काठमाडौंसहित चितवन, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत तथा पूर्वतर्फ वीरगञ्ज, धरान, इटहरी, विराटनगर र झापाका ठूला शहरहरूबाटै व्यापारीहरू विस्थापित भएका हुन् । अत्यधिक भाडा र थोरै सामान बेचेर तत्काल धेरै मुनाफा कमाउने ध्याउन्न, तर आर्थिक मन्दीका कारण उपभोक्ताको क्रय क्षमतामा ह्रास आउँदा ठूला शहरबाटै व्यवसायीहरू पलायन हुने क्रम अझै बढ्ने देखिएको छ ।
‘सटरभाडा मासिक ६० हजार रुपैयाँ तिर्नुपर्ने, सामान एक लाख रुपैयाँको पनि नबिक्ने, कताको भाडा, कताको नाफा, कताको गुजारा !’ काठमाडौं महानगरपालिका–१६ स्थित वनस्थलीमा कपडापसल बन्द गरेर गृहजिल्ला पर्वत फर्किएका रमेश सुवेदीले भने, ‘केही महिनाको भाडा तिर्न बाँकी थियो, हिसाबकिताब गरेर पसल नै घरबेटीलाई बुझाएर काठमाडौं छाडेको हुँ ।’ आफ्नै चिनजानका झण्डै ५० व्यवसायीहरूले दशैं मान्ने बहाना बनाएर काठमाडौं छाडेको सुवेदीले बताए ।
दशैंको अन्तिम दिनसम्म सोह्रखुट्टेमा मासुपसल चलाइरहेका गोरखाका सुवास खनाल पनि एकाएक व्यवसाय बन्द गरेर गोरखा फर्किएका छन् । आर्थिकन्यूजसँग कुरा गर्दै उनले भने, ‘दशैंमै मासु बिकेन, फूलपातीका दिन ल्याएको १० मध्ये चार खसी काटेर बल्लतल्ल बेचेँ । ६ वटा खसी परलभन्दा पनि कम मूल्यमा बेचेर पसलको साँचो घरबेटीलाई बुझाई गाउँ फर्किएको छु । यतै व्यवसाय गरौं भने मानिस निकै कम छन्, अब विदेश नै जानुपर्ने होला ।’ चितवन र बुटवलमा फलफूल व्यवसाय गरेका धादिङका चेतन खतिवडा पनि दशैंकै बेला व्यवसायबाट हात झिकेर गाउँ फर्किएका छन् ।
‘स्याउ र केरा समेत बिक्न छाडेपछि के व्यवसाय गर्नु र ! दशैंको ठीक अघि फलफूल पनि अत्यधिक बिक्री हुने समय हो । तर यसपटक मैले बुटवल र चितवनमा गरी पाँच ट्रक फलफूल कुहाएर फाल्नुपर्यो,’ खतिवडाले भने, ‘देशमा उपभोक्ताले एकदर्जन केराका लागि पनि खर्च गर्न डराउनुपर्ने स्थिति बनेछ । व्यवसायको लागत निकै महँगो र जोखिमयुक्त छ । त्यसैले मैले त काम नै छाड्ने निधो गरेँ ।’
काठमाडौं र चितवन मात्रै होइन, दशैं मनाउन घर फर्कने बहानामा देशका दर्जनौं शहरबाट हजारौं व्यवसायी पलायन भएको देखिन्छ । आर्थिक मन्दीले बेरोजगारी निम्त्याउँदा उपभोक्ताको खर्च क्षमता घट्नु, सटरकबलको भाडा महँगो हुनु, व्यवसायीले नै धेरै मुनाफा खातिर सामानको बिक्रय मूल्य अत्यधिक तोक्नु, नियामकले बजार अनुगमनमा कमजोरी गर्नु तथा किनमेलको माहोल बनाउने अधिकांश युवाहरू रोजगारी र गुणस्तरीय शिक्षाको अवसर खोज्दै विदेशिनुले व्यवसायमा धक्का लागेको हो ।
‘पाँच वर्षयता मैले व्यवसायमा अचम्मलाग्दो दृश्य देखिरहेको थिएँ, एउटा सामान किन्न आउँदा आफ्नो गच्छेले भ्याएसम्म किनमेल गर्ने युवाहरू घटिरहेका थिए,’ हेटौंडामा रहेको गिफ्टपसल बन्द गरेर दशैंकै बेला सिन्धुली फर्किएका रुपम सुनुवारले भने, ‘पछिल्ला वर्षमा पसलका अधिकांश ग्राहक प्रौढदेखि वृद्धवृद्धा र महिलाहरू हुने गरेका छन् । यो उमेरसमूहका ग्राहकमा बजार चलायमान गराउने इन्टेन्स हुँदैन । घरमूली विदेशमा रहेका र घर धानेर बसेका महिलाले पनि मन फुकाएर खर्च गरेको देखिनँ ।’
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्नातकसम्मको अध्ययन सकेर बिराटनगरमा मदिरा व्यवसाय शुरु गरेकी मेलिना राईले पनि दशैंकै बेला व्यवसायबाट हात झिकेकी छिन् । व्यवसाय छाड्नुको कारणबारे राईले भनिन्, ‘देशमा उत्पादन, माग र मूल्यको श्रृङ्खला देख्दा म वाणिज्यशास्त्रको विद्यार्थी नै अचम्ममा परेँ । मदिरा त बहुसंख्यक नेपालीको संस्कृतिसँगै जोडिएको छ, आधुनिकतासँगै यसको सेवन गर्नेहरू झनै बढेका छन् । तर चाडबाडकै बेला मदिराको व्यापार नहुनु अचम्मलाग्दो रह्यो ।’
कोरोना महामारीदेखि नै मदिरा व्यवसाय खस्किएको र पछिल्लो आर्थिक मन्दीपछि व्यापार झनै घटेर भाडा नै तिर्न नसक्ने अवस्था आएपछि आफूले व्यापार छाडेको राईले बताइन् ।
दशैं लगायत ठूला चाडपर्वमा अत्यधिक रकम खर्च हुने र व्यापार व्यवसाय बढ्ने अपेक्षा थियो । तर, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले दशैंअघि नै माग नबढेकाले बजार अर्थतन्त्र कता जान्छ भन्ने टुंगो नभएको बताएका थिए ।
‘दशैंमा भीडभाड त बढेको छ, व्यापारीहरूसँग बुझ्दा कारोबार चाहिँ त्यति बढेको देखिएन । अरू उद्योगहरूसँग बुझ्दा पनि माग बढेको छैन । दुई जोरको साटो एकजोर भए पनि कपडा किनौं भन्ने हिसाबले मानिसहरू बजारमा आएको देखिन्छ,’ आर्थिकन्यूजसँगको कुराकानीमा अग्रवालले भनेका थिए, ‘खर्च बढेको, तर आम्दानी नबढेको यो अवस्थामा सर्वसाधारण खर्च गर्न हच्किएका छन् । अरू दायित्वमै बढी रकम खर्च भइरहेको छ ।’
देशमा हुने आयात/निर्यातको तथ्यांक राख्ने भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा आयात व्यापार अघिल्लो अवधिको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ४ खर्ब ९९ करोड रुपैयाँको बस्तु आयात भएकोमा २०८०/८१ को साउनदेखि असोजसम्म चार खर्ब सात अर्ब ७५ करोड रुपैयाँबराबरको बस्तु आयात भएको छ । तर, यो आकार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र विलासी बस्तुको आयातले बढाएको हो । विद्युतीय कार, स्मार्टफोन, गाडी र ल्यापटपजस्ता अत्यावश्यक बाहेकका बस्तुको आयातले बजार चलायमान गराउने खुद्रा व्यवसायलाई खास उँभो लगाउँदैन ।