१५ प्रतिशत ब्याज तिर्नु भएको छ भने राष्ट्र बैंक आउनुस् – गभर्नर अधिकारी
१५ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीहरूले १५ प्रतिशत ब्याज तिरेको भए राष्ट्र बैंकले फिर्ता गराउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यदि कसैले १५ प्रतिशत ब्याज तिरेको भए राष्ट्र बैंकले फिर्ता गराउने बताएका हुन् ।
‘वास्तविक क्षेत्र हेर्दा पर्यटनको अवस्था राम्रो छ, केही व्यवसायीलाई समस्या छ, आफ्नो घाँटी नहेरी हड्डिको साईज लिनुहुन्छ र राज्यलाई दोष दिनुहुन्छ,’ उनले भने, ‘हामीले सेक्टरवाईज अध्ययन गरेका छौं, ८/९ प्रतिशतमा लोन लिने व्यवसायी धेरै छन्, यदि कसैले १५/१६/१७ प्रतिशत ब्याज लिएका छन् भने राष्ट्र बैंक आउनुस्, बढी लिएको ब्याज हामी फिर्ता गराउँछौं ।’
उनका अनुसार नकारात्मक कुरालाई अगाडि ल्याउने र भएको कुरालाई क्यास नगर्ने समाजको चलन छ । अर्थतन्त्र संरचनात्मक रुपमा समस्यामा रहेको र रेमिट्यान्सले धानेको उनको भनाइ छ । आन्तरिक उत्पादनलाई बढाउने काम राज्यको तर्फबाट प्रयास भएपनि पर्याप्त नरहेको उनले बताए ।
तर, कुरा आउँछ अर्थतन्त्र र गभर्नर बिचको सम्बन्ध, हामी बिचमा कुनै समस्या छैन,’ उनले भने । उनका अनुसार राज्यका चारवटै क्षेत्रमा समस्या छैन । बैंकिङ क्षेत्रको स्थायित्व गर्न राष्ट्र बैंकले कदम चालिरहेको उनले बताए ।
‘एनपिए र कर्जा गुणस्तरमा समस्या परिरहेको छ, अलिकति कसिलो नीति लिएको भएर पनि हो तर, यस्तो अवस्थामा कस्नुपनि पर्छ, नेट एनपिए डेढ प्रतिशतभन्दा माथि गएको छैन, बैंकिङ सिस्टम सुरक्षित र साउन्ड छ,’ उनले भने, ‘बाह्य क्षेत्रतर्फ १२ महिनाभन्दा धेरै समयको वस्तु आयात गर्नसक्ने क्षमता छ, राज्य र निजी क्षेत्रले काम गर्न खोज्दा कुनै अप्ठ्यारो नहुने अवस्था छ ।’ राष्ट्र बैंकले ब्याजदर बजारलाई छोडेको र स्प्रेडदर ४ प्रतिशत झार्न निर्देशन दिएको उनले बताए ।