ग्लोबल आईएमई बैंकको कोरियामा शाखा खोल्दै छौं – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २८ २०८०
1.8K
SHARES

२८ मंसिर काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले बैंकको ८ प्रतिशत नगद र १ प्रतिशत बोनस गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता रहेको बताएका छन् । उनले बैंकको ७७ जिल्लाहरुमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । कुल नाफामा सरकारलाई तिरेको करपछिको नाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ रहेको अध्यक्ष ढकालले बताए ।

गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब र ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको छ । अध्यक्ष ढकालका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब र कर्जा ३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
अध्यक्ष ढकालले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको समेत बताएका छन् ।