आँबुखैरेनी–पोखरा सडक खण्ड धमाधम कालोपत्रे हुदै
२१ पुस तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा दुईतर्फी कालोपत्रे धमाधम भइरहेको छ । पूर्वी खण्डका प्रमुख श्याम यादवले हालसम्म दुवैतर्फ साढे चार किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो ।
आँबुखैरेनी गाउँपालिकाको सत्रसत्र क्षेत्र र बन्दीपुर गाउँपालिकाको नाहाला क्षेत्रमा दुईतर्फी कालोपत्रे गरिएको उहाँले जानकारी दिनुभयो । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको बताउनुभयो ।
पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कलभर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइने छ । त्यसका लागि २२ करोड ४५ लाख रुपियाँ मुआब्जा वितरण गरिने छ । पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल वैशाखसम्म छ ।
पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे गर्ने तयारी थालिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे थाल्ने तयारी गरिएको हो । पश्चिम खण्डका प्रमुख राजेश पौडेलले त्यसका लागि अहिले उक्त खण्डमा बेस राख्ने काम भइरहेको जानकारी दिनुभयो ।
केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको र १४ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो । सडक कालोपत्रेका लागि करिब दुई किलोमिटर आधारको काम सकिएको पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्डका अनुसार माघ महिनाको पहिलो हप्ताबाट कालोपत्रे भइरहेको छ । २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा छ । पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई सोही सालको भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल भदौसम्म छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा लागेको हो।
२०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटर फराकिलो बनाइने तर एकतर्फी २१ र अर्कोतर्फी २१ गरी ४२ मिटर सडक बन्ने जानकारी दिनुभयो । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।