१००० मेगावाट बिजुली भारतलाई एउटै प्रसारणलाइनबाट
२२ पुस काठमाडौं । नेपालले भारतलाई ढल्केपुर–मुजफ्फरपुर प्रसारणलाइनबाट मात्रै १००० मेगावाट बिजुली पठाउने भएको छ । धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केबरदेखि भारतको मुजफ्फरपूरसम्मको प्रसारणलाइन क्षमता बढाउन सरकारले भारतसँग सम्झौता गरेको हो ।
गत फागुन ६ गते भारतको राजस्थानमा बसेको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमै सो प्रसारणलाइनबाट आयात–निर्यात क्षमता बढाउने सहमति भएको थियो ।गत बिहीबार भारतीय विदेशमन्त्री एस. जयशंकर आउनासाथ द्विदेशीय दीर्घकालीन विद्युत व्यापार सम्झौतामा दुई देशका ऊर्जा सचिवले हस्ताक्षर गरेका थिए । जयशंकर आउनु अगावै उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको भारतले नेपालमा उत्पादित बिजुली सस्तो कच्चापदार्थको रूपमा लैजाने वातावरण बनाउन सक्दो प्रयास गरेको थियो ।
सोही प्रयासस्वरूपः भारतले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको क्षमता बढाउन द्विपक्षीय सहमति बनाउन सफल भएको हो । ढल्केपुर–मुजफ्फरपुरबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुने गरेको छ ।हाल सो प्रसारणलाइनका तीन ट्रान्सफर्मरको क्षमता ८०० मेगावाट छ । १००० मेगावाट क्षमताको ट्रान्सफर्मर राख्दै प्रसारणलाइनको क्षमता पनि २०० मेगावाट बढाएर भारततर्फ १००० मेगावाट बिजुली लैजान भारतले सहमति जनाएको हो ।
हाल भारतीय कम्पनी सतलज जलविद्युत निगम (एमजेभीएन)ले संखुवासभामा निर्माण गरिरहेको अरूण तेस्रो तथा अरूण चौथो र तल्लो अरूणको बिजुली लैजानेगरी भारतले ढल्केबरदेखि सीतामढीसम्म ४०० केभी क्षमतायुक्त डेडिकेटेड प्रसारणलाइन निर्माण गरिरहेको छ ।नेपालतर्फ यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १९ गते ढल्केबरमा देशकै ठूलो र पहिलो ४०० केभी सबस्टेशन उद्घाटन गरेका थिए ।
भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई बेच्नेगरी ऊर्जा मन्त्रालयस्तरीय सम्झौता गर्न लगाएका थिए ।