चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब १४ करोड रूपैयाँ कर


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २९ २०८०
4.4K
SHARES

२९ पुस काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७९–०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ ।  चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले यो कर वापतको रकम तिरेको ग्रुपले जनाएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमी आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले जारी गरेको विज्ञप्तिमा अघिल्लो आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको उल्लेख छ ।

“देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ,” ग्रुपका अध्यक्ष विनोद चौधरीको भनाई छ, “हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।” गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको जनाइएको छ ।

आर्थिक वर्ष २०७५–७६ मा ११ अर्ब ६७ करोड, २०७६–७७ मा ९ अर्ब ८७ करोड, २०७७–७८ मा १४ अर्ब २८ करोड, २०७८–७९ मा १७ अर्ब ७२ करोड र २०७९–८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको जनाइएको छ ।

“चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोवाइल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा हामीले तीव्र गतिमा लगानी विस्तार गरिरहेका छौँ । नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्‍याउन चाहान्छौँ,” चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन्, “हाम्रो ग्रुप एकसय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ । र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।”