तरलता फालाफालः थप २५ अर्ब तान्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २७ २०८०
2.9K
SHARES

२७ माघ काठमाडौ । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले माघ २८ गते आइतबार थप बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आउँदो आइतबार फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आइतबार दिउँसो ३ बजे बोलकबोल हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको फागुन ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

माघमा यो नवौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। यसअघि केन्द्रीय बैंकले माघ २६ गते १० अर्ब रुपैयाँ, माघ २३ गते ४० अर्ब रुपैयाँ, माघ १८ गते २० अर्ब रुपैयाँ, माघ १७ गते ३० अर्ब रुपैयाँ, माघ १६ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ३ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।

त्यस्तै राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको थियो। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।