देशमा आर्थिक मन्दी र शिथिलता हट्दैछ – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २८ २०८०
2.1K
SHARES

२८ माघ काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा आर्थिक मन्दी र शिथिलता हट्दै गएको दाबी गरेका छन्। तारकेश्वर गाउँपालिका–१ दाङसिङमा शनिबार आयोजित ‘सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’मा उनले देशमा अर्थतन्त्र चलायमान भइरहेको दाबी गर्दै अर्थ व्यवस्था समस्यामा नरहेको स्पष्ट पारेका हुन्।

अर्थमन्त्री डा. महतले जनताको आम्दानी र खर्चको सन्तुलन नमिल्दा केहि समस्या देखिएको बताए। महतले अब जनताले नै सीप र ज्ञानमा आधारित कार्य गर्नु पर्नेमा जोड दिए। महतले आउँदो आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने दाबी गरे।

जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने उनले बताए। ‘विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन।’ महतले भने, ‘अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ।’

डा. महतले मुलुकमा अब राजनीतिक तथा आर्थिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे। ‘चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन संघीय सरकारकाले प्राथमिकता दिएको छ,’उनले भने।

देशभित्रै रोजगारको सिर्जना गर्न शिक्षा र सीपमा सरकारले नयाँ योजना बनाएर आवश्यकताअनुसार बजेट उपलब्ध गराउने अर्थमन्त्री डा. महतले प्रतिबद्धता जनाए। उनले देश विकासका लागि आर्थिक परिवर्तनको मेरुदण्ड नै स्थानीय विकास भएकोसमेत बताए।