आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण
२ फागुन काठमाडौं । सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ। सरकारले लिएको लक्ष्यभन्दा २.९ प्रतिशत कम आर्थिक वृद्धि हुने प्रतिवेदन आइएमएफले सोमबार सार्वजनिक गरेको हो।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ मिसन चिफ टिडिएन किन्डाले आर्थिक वृद्धिको प्रक्षेपण गरेको जानकारी गराउँदै पुँजीगत खर्च बढाउन सुझाव दिए।
रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, पर्यटन क्षेत्रमा भएको सुधार, लचिलो मौद्रिक नीतिले पनि बैंक वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको उनले बताए।विश्व बैंकले गत पुसमा सार्वजनिक गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुनेछ। सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई संरचनात्मक सुधार गर्ने अवसरका रूपमा प्रयोग गर्दै आर्थिक वृद्धिको बाटो खोल्नुपर्ने टिन्डाले बताए।