रम्भा गाउँपालिकाले टुंगो लगायो केन्द्र


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
2.4K
SHARES

१० फागुन पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले साढे ६ वर्षपछि केन्द्र टुंगो लगाएको छ । पाँच वडा रहेको पालिकामा ५ स्थानमा केन्द्रका लागि निवेदन परेको थियो । २०७४ मा निर्वाचित जनप्रतिनिधिले केन्द्र टुंगो नलगाई विदा भए । केही वडाका वडाध्यक्ष परिवर्तन भए पनि २०७४ मै निर्वाचित अध्यक्ष विष्णुप्रसाद भण्डारी र उपाध्यक्ष राधाकुमारी श्रेष्ठ पुनः २०७९ मा निर्वाचित भएका हुन् ।

पहिलो निर्वाचनपछिको साढे ६ वर्ष बित्दासमेत संघीय सरकारले तत्कालीन समयमा रम्भा–३, पिपलडाँडामा पर्ने खोकखोलामा केन्द्र तोकेर कामकाज सञ्चालन गरिरहेकै स्थान नजिक केन्द्र बन्ने भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । संघीय सरकारले तोकेको केन्द्र परिर्वतनको अवसरलाई प्रयोग गर्न गाउँपालिकाले सकेन । बहुमत सदस्यले पारित गर्न नसक्दा अन्यत्र सार्न नसकेको उनले बताए ।

गाउँपालिकाले कार्यविधि अनुसार स्थायी केन्द्रका लागि आवश्यक जग्गा प्रस्तावका लागि आहृवान गरेको थियो । सोही अनुसार ५ जना सभाका सदस्यले गाउँपालिका भित्रका विभिन्न ५ स्थानमा केन्द्र बनाउनुपर्ने माग सहितको निवेदन दर्ता गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । ‘सभा सदस्यले पेश गरेका केन्द्रका लागि बहुमत जुटाउन सकिएन,’ उनले भने, ‘अन्तिममा अहिले केन्द्र रहेको ५ सय मिटर वरपर नै राख्नुपर्ने अवस्था आएको छ ।’