चन्द्रागिरि नगरपालिका र कर्जा सुरक्षण कोषबीच सहकार्य
२० फागुन काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ । सोबापत वित्तीय संस्थाले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्क ऋणीको तर्फबाट नगरपालिकाले व्यहोरिदिने भएको छ ।
यसका लागि चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषका बीचमा बिहीबार द्विपक्षीय समझदारी भएको छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी तथा आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काको उपस्थितिमा सम्पन्न सो समझदारीपत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे ।
सम्झौताले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग तथा लघुउद्यमीलाई बिनाधितोे निर्धक्क कर्जा प्रवाह गर्न थप बाटो खुला भएको जनाइएको छ । साथै यसबाट चन्द्रागिरिले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न थप सहयोग पुग्ने अपेक्षा गरेको छ । हाल नगरपालिकाले सहकारी संस्थाको सहकार्यमा आफ्ना उत्पादनलाई प्रवर्द्धन गर्न स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला (सहरी हाटबजार) तथा स्थानीय उत्पादन बिक्री केन्द्र सञ्चालनमा सहयोग गर्दै आएको छ ।
नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाका समन्वयमा दिइने विशेष ब्याज अनुदान कार्यविधि, २०७९ नै जारी गरेको छ । कार्यविधिअनुसार प्रवाहित कर्जाको सुरक्षण प्रदान गर्ने प्रयोजनले बैंक तथा वित्तीय संस्थाले कोषमा तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्कको शून्य दशमलव चार प्रतिशत नगरपालिकाले कोषलाई तिर्ने समझदारीमा उल्लेख छ ।