मकै र सालको पात बेच्ने महिलालाई अनुदान
३ चैत काठमाडौं । बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवद्र्धनका लागि पोलेको मकै र सालको पात बेच्ने महिलाहरुलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराइएको बताइएको छ ।बुटवलका विभिन्न स्थानमा मकै पोलेर बेच्ने र सालको पात बेचेर आफ्नो र परिवारको जीवन गुजारा गरिरहेका ३७ जना महिलालाई जनही पाँच हजारका दरले सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई हिजो आयोजित कार्यक्रममा सम्मानसहित रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महशुस गरेको साझा सहरका रुपमा स्थापित गर्न र परम्परागत पेशा, व्यवसाय अंगालेका महिलालाई प्रोत्साहन गर्न सहयोग गरिएको बताए । उनले नगरले उपलब्ध गराएको रकमले महिलाहरुले आफ्नो पेशा व्यवसायलाई थप स्तरीय बनाउनसक्ने विश्वास व्यक्त गरे । उनले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने उद्देश्य लिएकाले सोहीअनुसार काम गर्दै गएको जानकारी गराए । बुटवललाई मुलुककै उत्कृष्ट सहर बनाउने योजनाका साथ नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याइएकाले नगरबासीको साथले मात्रै नगरलाई समृद्ध बनाउन सकिने प्रमुख पाण्डेयको विश्वास छ ।