भारतको बेतालघाट सवारी दुर्घटनामा सात नेपालीको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
2.6K
SHARES

२७ चैत कञ्चनपुर। भारतको नैनीतालस्थित बेतालघाटमा सोमबार राति भएको सवारी दुर्घटनामा परी सात नेपाली र सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।बेतालघाट पुलिस थानाका सब–इन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरू नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ । घटनास्थल वरपर नेपालीहरू सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए ।

“काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,” उनले भने, “उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।” दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उनले  जानकारी दिए ।गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’ समेत खटिएको सब–इन्सपेक्टर अन्सारीले बताए ।