मन्त्रीमण्डल हेरफेरको तयारी , यी मन्त्री फिर्ता हुदै
२ असार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् ।‘अहिले राष्ट्रपति स्वदेशमा हुनुहुन्न ।
उहाँ फर्केलगत्तै मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘असार ७ पछि असार दोस्रो साता पुनर्गठन हुनसक्छ ।’हाल सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् । अबको मन्त्रीमण्डल हेरफेर र विस्तारमा हालका केही मन्त्री हटाएर मन्त्रालय खाली गर्ने र नयाँलाई समेट्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
यसो गर्दा माओवादी केन्द्र र एमालेका एक एक जना मन्त्री फिर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दा अध्यक्ष ओलीले बजेट पास भएपछि मात्र मन्त्रीमण्डल हेरफेर र पुनर्गठन गर्न सकिने भनेर सहमति दिएको बुझिएको छ । दुई नेताबिच भएको सहमति अनुसार माओवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हितराज तामाङ र एमालेबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड हुँदै हाल जर्मनी भ्रमणमा रहेका छन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।