प्रचण्ड भन्ने मान्छे यो देशमा प्रधानमन्त्री छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १२ २०८१
4K
SHARES

११ असार काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मन्त्रालयको तर्फबाट बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री प्रचण्ड स्वयंले परराष्ट्र मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिएका हुन् ।

यसै क्रममा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै यो देशमा प्रधानमन्त्री छ कि छैन ? भन्दै प्रश्न गरेका थिए । रुस युक्रेन युद्धका क्रममा नेपालीहरूको मृत्यु हुँदा पनि सरकारले चासो नदिएको भन्दै शाहीले उक्त प्रश्न गरेका थिए ।

शाहीलाई जवाफ दिँदै प्रचण्डले देशमा प्रधानमन्त्री रहेको र आफू प्रधानमन्त्री भएको जवाफ फर्काए । ‘नेपालमा प्रधानमन्त्री छ । र, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,’ प्रचण्डले भने ।

उनले नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दुःखद भएको बताए । साथै आफूले उद्धारका लागि पहल गरिरहेको उनको भनाइ थियो । उनले राति १२ बजे पनि रुसी सेनामा रहेका नेपालीहरूसँग आफूले कुरा गरेको प्रचण्डको भनाइ छ ।