मन्त्रिपरिषद् हेरफेर हुदै : यी मन्त्री फिर्ता हुने
१२ असार काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ अन्तिम साता नै जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा ल्याउन चाहे पनि सफल भएको थिएन। सरकारको मजबुतीका लागि यी दुई दललाई प्रधानमन्त्रीले भित्र्याउन चाहे पनि त्यसमा सत्तासाझेदार नेकपा एमाले बाधक बन्यो।
कुनै मन्त्रालय खाली नभएकाले जनमत र नाउपालाई सरकारमा सहभागी गराउन भएकै मन्त्री फिर्ता बोलाउनुपर्नेमा एमाले सहमत भएन। अहिले आएर भने एमाले मन्त्रालय खाली गर्न तयार भएको छ। दायरा विस्तार गरेर सरकारलाई बलियो बनाउन आफूहरू तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
‘मन्त्रिपरिषद् हेरफेर गर्ने विषय सकारात्मक ढंगले अघि बढेको छ। प्रधानमन्त्रीले पहल लिइरहनुभएको छ। त्यसमा अध्यक्ष (केपी ओली)ले पनि सघाइरहनुभएको छ’, मन्त्रालय खाली गर्ने सन्दर्भमा उनले भने, ‘त्यसका लागि हामी तयार नै छौँ। सरकारको दायरा विस्तार गर्नुपर्छ। बलियो बनाउनुपर्छ भन्ने नै छ।’
मन्त्रालय खाली गर्न एमाले तयार भएसँगै सरकारमा जनमत र नाउपाको प्रवेश करिब निश्चित भएको छ। अर्को एक मन्त्री आफ्नै पार्टी माओवादीबाट फिर्ता बोलाउने प्रधानमन्त्री प्रचण्डको योजना छ।
कसलाई फिर्ता बोलाउने भन्नेमा भने एमाले र माओवादी दुबै दल निष्कर्षमा पुगिसकेका छैनन्। यद्यपि एमालेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई फिर्ता बोलाउने चर्चा छ।
माओवादीबाट दुईमन्त्रीको नाम फिर्ता बोलाइनसक्ने सूचीमा छ। माओवादीका एक पदाधिकारीका अनुसार सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङमध्ये एकलाई फिर्ता बालाइनेछ। उनले भने, ‘सञ्चारमन्त्री रेखा वा पर्यटमन्त्री यी नै दुईमध्ये एउटालाई फिर्ता बोलाउने कुरा छ।’