अध्यक्ष ओलीसहित एमाले नेताहरु पार्टी मुख्यालयमा
१७ असार काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली केही नेतासँग गोप्य छलफलमा जुट्नुभएको छ । साँझ साढे ६ बजे आफ्ना मन्त्रीहरुलाई स्ट्याण्डबाइ बस्न लगाएर पार्टी मुख्यालय,च्यासलमा उहाँ गोप्य छलफलमा व्यस्त हुनुहुन्छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल,बिदेश विभाग प्रमुख राजन भट्टराईलगायत आठ नौ जना हुनुहुन्छ । उता सिंहदरबारमा भने क्याबिनेट बैठक बसिरहेको छ ।
एमाले र काँग्रेसबीच नयाँ सत्ता समीकरणको प्रक्रिया अघि बढेको खबर बाहिरिएसँगै एमाले अध्यक्ष ओली अस्तिदेखि बूढानीलकण्ठ,बालुवाटार र सिंहदरबारमा निरन्तर पुग्नुभएको छ । आज बिहान पनि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा तीन घण्टा लामो भेटवार्ता गर्नुभएको थियो ।