नयाँ सरकारमा यी १५ सदस्यीय मन्त्रिमण्डल
२७ असार काठमाडौ । नयाँ सरकार गठन गर्नेगरी नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डामा सहमति लगभग टुंग्याएका छन्।
संविधानको धारा ७६ (२) अनुसार सरकार बन्ने निश्चित रहेको निष्कर्षसहित १२ दिनदेखि निरन्तर छलफलमा रहेका कांग्रेस–एमालेका नेताहरूले नयाँ बन्ने सरकारको मन्त्रालय समेत बाँडफाँटमा समझदारी जुटाएका हुन्।
दुईजना उपप्रधानमन्त्री राख्ने करिब समझदारी भएको छ। कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनाउने हालसम्मको सहमति छ। दुवै यसअघि उपप्रधानमन्त्री भइसकेका नेता हुन् । सिंह र पौडेल नै सरकारमा सहभागी हुनुपर्ने भएपछि मात्र उनी उपप्रधानमन्त्री राख्न तयार भएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ (शुक्रबार) बिहान ११ बजे प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत पाउने सम्भावना नरहेपछि राष्ट्रपतिले ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्नेमा कांग्रेस–एमाले ढुक्क छन्।प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डलमा पहिलो चरणमा दुई पार्टीबाट कम्तीमा पाँच÷पाँच जना मन्त्री बनाइँदैछ।
सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय पाउनेछ। यस्तै, सरकारलाई समर्थन गर्ने ठूलो दल कांग्रेसले परराष्ट्र, गृह, भौतिक पूर्वाधार, उर्जासहित ९ मन्त्रालय पाउने लगभग निश्चित छ।
यद्यपि, नयाँ सरकारलाई समर्थन गर्ने दलको संख्या बढेकोले भागबण्डाको अन्तिम संख्या हेरफेर हुने छलफलमा रहेका बताउँछन्।
संसदमा रहेका जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी हुने भएपछि कांग्रेस–एमालेले लिने मन्त्रालय संख्या घटाइएको छलफलमा रहेका एक नेताले क्यापिटल हेडलाईनलाई जानकारी दिए।
कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरेमा रमेश लेखक गृह र, डा. आरजु देउवा परराष्ट्रमन्त्री बन्ने चर्चा छ। अन्य केही नेताहरूको नामका विषयमा उनी परामर्शमा छन्।
पार्टीभित्र शेखर कोइराला, कृष्ण सिटौला, दुई महामन्त्री र दुई उपसभापतिलाई समेत मान्य नाम पठाउनुपर्ने भएकोले उनले सर्वस्वीकार्य बनाउन प्रयास गरेका छन्।एमालेले मन्त्रीहरूको नाम सार्वजनिक गरिसकेको छैन।