प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ – प्रधानमन्त्री प्रचण्ड
२८ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने गरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने प्रस्ताव गरेका हुन् । ‘संविधान संशोधन गर्ने भए खुला छलफल गरौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले दलित र महिलाको प्रतिनिधित्वको सहभागिता अझै बढाउन संविधान संशोधन गर्न पनि माग गरे । उनले विदेशीको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत भइरहेको लुकाउनु नपर्ने बताए ।
‘विदेशीको नक्कल गर्दै नेपाललाई दुई दलीय बनाउने कसरत भइरहेको छ । त्यो खुला छ र लुकाउनु पर्दैन,’ उनले भने । स्थिरताका नाममा समानुपातिक समावेशिता मास्न खोजेको गन्ध आएको उनले बताए । उनले दुई दल मिलेर फेरि २०४७ सालतिरै फर्किने कोसिस भइरहेको बताए । ‘स्थिरताका नाममा समानुपातिक समावेशिता मास्न खोजेको गन्ध आएको छ । ०४७ सालतिरै फर्किने कोसिस भइरहेको छ । ०४७ सालदेखि ०६३ सालसम्म १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईंहरू नै होइन ?,’ उनले भने ।