सरकारलाई दसैँतिहार मान्न दिने हो भने चार महिना जान्छ – प्रमुख सचेतक चौधरी
५ साउन काठमाडौ । असार २८मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँचौँपटक विश्वासको मत लिँदै गर्दा संसदको माहौल रोचक थियो। सत्ताबाट बहिर्गमन हुने निश्चित भएपछि प्रचण्डको आवेगपूर्ण सम्बोधन र प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओलीको उत्कण्ठाको माझ अर्का एक वक्ताको रोचक सम्बोधनले सांसदहरू मात्रै होइन, लाइभ हेरेर बसेका आम मानिसको ध्यान खिच्यो। उनी थिए– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी।
विश्वासको मतपछि ओलीले एक खालको तानाशाही प्रवृत्ति लागू गर्न खोज्छन्, आजभोलि भन्दै साना दललाई झुलाउँछन्, त्यो भएपछि विस्तारै सरकारमा सहभागी हुन चाहने राजनीतिक दल पनि रिसाउँदै जान्छन् र क्याबिनेटमा सम्पूर्ण कुरा आफूले चलाउन खोजेपछि कांग्रेसका मान्छेहरू पनि एक महिना, बढिमा डेढ महिनामा केपी ओलीप्रति चरम असन्तुष्ट हुन्छन्,’ उनले भने, ‘साना दलले उनलाई दिएको विश्वासको मत फिर्ता लिन खोज्छन्, जसले कांग्रेसलाई पनि मलजल गर्छ। क्याबिनेटदेखि अनेक लडाइँका बाबजुद बढीमा तीन महिना जानसक्छ यो सरकार, दसैँतिहार मान्न दिने भन्ने भयो भने पनि चार महिना मात्रै हो।’