सचिवलाई शौचालयमा थुन्ने पूर्व मुख्यमन्त्रीको धम्की


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ८ २०८१
2.5K
SHARES

८ साउन काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुट्ने धम्की दिएका छन् । प्रदेशसभा सदस्य कार्कीले हिजो अपरान्ह पौने ५ बजे फोनवार्तामा कार्यालयमै कुट्ने र शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले बताए ।

धम्कीपछि भट्टराईले कार्यालयमा बसेर काम गर्ने अवस्था नरहेको भन्दै सुरक्षाको निम्ति जिल्ला प्रशासन कार्यालय मोरङमा निवदेन दिएका छन् । कार्कीले मातृका यादवको उदाहरण दिँदै धम्की दिएको निवेदनमा उल्लेख छ ।

‘मलाई फोन गरी विराट गोल्डकपको विषयलाई लिएर तथानाम गाली गलौज (मातृका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला, तलाई पनि मन्त्रालयमै आएर कुट्छु, शौचालयमा थुन्छु भन्नुभयो’, निवेदनमा लेखिएको छ, ‘यो अवस्थामा म मन्त्रालयमा बसेर कामकाज गर्न सक्ने अवस्था नभएकाले मेरो जिउ ज्यानको सुरक्षासहित आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि सचिव भट्टराईको निवेदन दर्ता भइसकेको जनकारी दिए । उनले जनआस्थासँग भने, ‘सचिवज्यूले निदेवदन दिनुभएको छ, हामीले उहाँलाई काम गर्दा, हिँड्दा, बस्दा, डुल्दा सुरक्षाको प्रबन्ध मिलाइदिँदैछौं, मान्य कार्कीजीको हकमा कल रेकर्ड निकालेर अध्ययन गछौँ ।’