स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गरिनुपर्छ – मुकुल ढकाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१
3.6K
SHARES

१८ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले वाग्लेको अभिव्यक्ति राष्ट्रियताको पक्षमा नभएको उल्लेख गरेका छन् ।

“कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाति एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ,” उनले लेखेका छन् ।

ढकालले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण भएको र प्रतिरक्षाको शैलीमा अञ्जानबस् प्रस्तुति गल्ती भएको स्वीकार गरेका छन् । तर, आफूले एक शब्द झुटो नबोलेको भन्दै प्रमाण दिन तयार रहेको बताएका छन् ।

“प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् । तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन । मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु,” उनले लेखेका छन् ।उनले पार्टी सभापति रवि लामछिनेमाथि लागेका सबै आरोपउपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने पनि उल्लेख गरेका छन् ।