माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति भंग गर्दै
१८ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी संरचनामा रहेका विभिन्न समिति भंग गर्ने तयारी गरेको छ। विशेष महाधिवेशन गर्ने उदेश्यले पदाधिकारी, स्थायी समिति विघटन गर्न लागिएको नेताहरुले बताएका छन्। महाधिवेशन गरेको ३ वर्ष र पदाधिकारी चयन भएको २ वर्ष पनि नपुग्दै ती कमिटी विघटन गर्ने निष्कर्षमा माओवादी पुगेको हो। माओवादी केन्द्रमा अहिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, आयोग, विभाग र प्रदेश गरी ८ संरचना छन्। २२ सदस्यीय पदाधिकारी सहित ४३ जना स्थायी समिति सदस्य र ४०७ जना केन्द्रीय सदस्य प्रतिस्पर्धाबिनै चुनिएका थिए। ।
२०७९ माघ २५ गते माओवादीले २२ सदस्यीय पदाधिकारी घोषणा गरेको थियो। एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ उमहासचिव, नौ सचिव र एक कोषाध्यक्षसहितलाई माओवादीले पदाधिकारी भन्ने गरेको छ। अब केन्द्रीय समितिलाई कायम राखेर अन्य कमिटी भंग गर्ने तयारी माओवादीको छ। आगामी साउन २५ गते बोलाइएको स्थायी समिति बैठकबाट सो निर्णय अनुमोदनको तयारी भएको एक पदाधिकारीले क्यापिटल हेडलाईनलाई जानकारी दिए। त्यसपछि केन्द्रीय समिति बैठकले त्यसबारे अन्तिम निर्णय गर्नेछ। माओवादीमा हरेक निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ।