२३ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेशको घटनापछि सत्ता, शक्ति, दम्भ, अहङ्कार, बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा नसक्ने देखाएको टिप्पणी गरेका छन्। पूर्वपरराष्ट्रमन्त्री समेत रहेको श्रेष्ठले सरकारले सीमा नाकाहरुकमा कडा निगरानी र सुरक्षामा ध्यान दिनु आवश्यक रहेको बताए।
उनले भने,‘हामीले अहिले नै बंगलादेशमा घटेको घटनाको सम्पूर्ण पाटापक्ष र यसले पार्ने प्रभावहरुका बारेमा निष्कर्ष निकाल्नु हतारो हुन सक्छ । तर यसबाट निम्न शिक्षाहरू लिन भने अरु समय लिइरहनु आवश्यक छैन । सत्ता, शक्ति, दम्भ, अहङ्कार, बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन। त्यस्तो पात्र , प्रवृत्ति र संयन्त्र स्थायी र टिकाउ हुन सक्दैन ।’
उनले अन्ततः सत्य र जनबलको नै जीत हुने उल्लेख गर्दै त्यसको अघि सबैले झुक्नै पर्ने बताए। राजनीतिक पार्टीहरु र नेताहरू बदलिए तिब्र गतिमा नेपाल बदल्न सम्भव भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो, नेताहरू र दलहरु आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रुपमा नलिऔं।’
बंगलादेशमा करिब एक महिना देखि चलिरहेको विद्यार्थी आन्दोलन, सरकारद्वारा गरिएको निर्मम दमन र गोली प्रहारको परिणामस्वरूप एकै दिनमा १०० जना सहित ३०० जनाको मृत्यु र अंततः आम जनताको सहभागिता सहितको व्यापक जनआक्रोशको उत्कर्षको परिणाम स्वरूप १५ वर्ष देखिको प्रधानमन्त्री शेख हसिना राजको अन्त भएको छ ।
प्र.म हसिना हिजो साउन २१ गते (5th August) पदबाट राजिनामा दिई विदेश पलायन भएपछि सम्पूर्ण विश्वले यतिबेला बंगलादेशको घटनालाई विभिन्न कोणबाट विश्लेषण गर्दै गम्भीरतापूर्वक अध्ययन गरिरहेका छन् । हामीले पनि बंगलादेश, छिमेकीहरु, क्षेत्र र विश्वमा यसले पार्ने प्रभावका बारेमा नजिकबाट अध्ययन विश्लेषण गर्नु पर्ने आवश्यकता छ । यस क्षणमा हामी विश्वसमुदाय सँगै बंगलादेशमा शान्ति, स्थिरता र लोकतन्त्रको पक्षमा रहन्छौं र त्यसको कामना गर्दछौं ।
सरकारले सीमा नाकाहरुमा कडा निगरानी र सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ । हामीले अहिले नै बंगलादेशमा घटेको घटनाको सम्पूर्ण पाटापक्ष र यसले पार्ने प्रभावहरुका बारेमा निष्कर्ष निकाल्नु हतारो हुन सक्छ । तर यसबाट निम्न शिक्षाहरू लिन भने अरु समय लिइरहनु आवश्यक छैन ।
सत्ता, शक्ति, दम्भ, अहङ्कार, बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन । त्यस्तो पात्र, प्रवृत्ति र संयन्त्र स्थायी र टिकाउ हुन सक्दैन । अन्ततः सत्य र जनबलको नै जीत हुन्छ र त्यसको अघि सबैले झुक्नै पर्छ । हामीले पनि समयमै यसलाई आत्मसात गरेर तद्नुरूप आफूलाई फेर्न र प्रस्तुत गर्न सके मात्र जनताले हामीलाई रक्षा, बल र शक्ति प्रदान गर्नेछन् । अन्यथा, त्यसको गम्भीर परिणामको सामना हामीले पनि गर्नै पर्ने हुन्छ । हामी नेपालका राजनीतिक पार्टी र तिनका नेताहरुले राष्ट्रिय स्वाधीनता एवम् नेपाली जनताको आत्मनिणर्यको अधिकारको रक्षा, राष्ट्रिय एकताको सुदृढीकरण, संविधान एवम् लोकतन्त्रको रक्षा, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा आफूलाई रूपान्तरण सहित प्रस्तुत गर्नु आजको माग हो । यसलाई छिट्टै बुझौं र त्यस अनुसार व्यवहार गरौं । राजनीतिक पार्टीहरु र नेताहरू बदलिए तीब्र गतिमा नेपाल बदल्न सम्भव छ । नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो, नेताहरू र दलहरु आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रुपमा नलिऔं ।