अब नयाँ युवानीति आवश्यक छ – राष्ट्रपति पौडेल


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २८ २०८१
1.8K
SHARES

२८ साउन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवानीति आवश्यक भएको बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको बताएका हुन् । उनले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नवीनतम विकासका सन्दर्भमा युवा सम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

राष्ट्रपति पौडेलले गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सीमितता, व्यवसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको सीमितता रहेको बताए । उनले वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका आवश्यकताको परिपूर्ति, समानता एवम् समतामुलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक रहेको बताए ।राष्ट्रपति पौडेलले युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गरे । उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्न सके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने जिकिर गरे ।