प्रधानमन्त्री ओलीको भ्रमण अनिश्चित


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
2.7K
SHARES

३१ साउन काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई अदालतले पदमुक्त गरेपछि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन अनिश्चित भएको छ । थाइल्याण्ड सरकारले १८ र १९ भदौमा आयोजना गर्न लागेको सम्मेलनमा अन्यौल भएको हो । झन्डै दुई साताअघि प्रधानमन्त्री नै पदमुक्त भएपछि सम्मेलन अन्योलमा परेको हो ।

बिमस्टेक सम्मेलन अन्योलमा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण पनि अन्योल भएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि ‌ओली पहिलो विदेश भ्रमण थाइल्याण्ड जाने तयारीमा थिए । यसबीचमा सदस्य राष्ट्रमध्ये बंगलादेशको राजनीतिक घटनाक्रम परिवर्तन भएको थियो । म्यानमारसँग भने पुरानै समस्या रहेको छ ।

बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि थाइल्याण्ड जाने भारतीय मिडियाले उल्लेख गरेका थिए । थाइल्याण्डमा मोदीसँग विशेष भेटका लागि प्रधानमन्त्री ओलीले पनि प्रयास गरिरहेका थिए ।

थाविसिनले आफ्नो क्याबिनेटमा जेल सजाय भुक्तान गरेका पूर्ववकिललाई समावेश गरेका थिए । अदालतले उनले नैतिकताको नियम उल्लङ्घन गरेको र अवज्ञाकारी व्यवहार गरेको ठहर गरेको छ । ६७ वर्षीय स्रेथा एक वर्षमै प्रधानमन्त्रीबाट बर्खास्त भएका हुन् । उनी विगत १६ वर्षमा अदालतले पदबाट हटाइएका तेस्रो प्रधानमन्त्री हुन् । पदमुक्त भएपछि थाविसिनले आफूलाई अदालतको फैसला चित्त नबुझे पनि मान्नुको विकल्प नभएको  प्रतिक्रिया दिएका छन् । थाइल्याण्डमा अब अन्तरिम सरकार गठन हुनेछ । अदालतको यो निर्णयले थाइल्याण्डमा राजनीतिक अनिश्चितताको बढेको छ ।