संविधानले सबैलाई मिलाएको छ – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
2.8K
SHARES

३१ चैत काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान उत्कृष्ट दस्ताबेज भएको बताएका छन् । नेपाल मुस्लिम संघले नयाँ वर्ष, २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले अहिलेको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी गरे ।

“हाम्रो देश अहिले समावेशी समानुतिक प्रतिनिधित्वका आधारमा चलिरहेको छ । यसमा संविधानतः मुस्लिम समुदायको पनि प्रतिनिधित्व भएको छ,” देउवाले भने, “नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर जाने प्रबन्ध संविधानले नै गरेको छ ।”देउवाले एउटा दलको बहुमत आउन कठिन अवस्था संविधानमा रहे पनि सबैलाई मिलाउने प्रबन्धनले संविधानलाई उत्कृष्ट बनाएको तर्क गरे ।

“यस संविधानमा रहेको निर्वाचन प्रणालीले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ । तर, बहुमत आउन गाह्रो भए पनि सबैलाई मिलाउन सक्ने संविधान छ,” देउवाले भने, “आदिवासी जनजाति, महिला, मुस्लिमसहित सबैको प्रतिनिधित्व यस संविधानले सुनिश्चित गरेको छ ।”

त्यस क्रममा देउवाले मुस्लिम समुदाय नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा अत्यन्तै मेलमिलाप गरेर बसेको बताए । उनले मुस्लिम समुदायमा मिहिनेती स्वभाव संस्कारकै रूपमा रहेको पनि बताए ।

“नेपालगन्जका हुन्, चाहे बारा–रौतहट, चाहे सुनसरी–विराटनगरका मुस्लिम समुदाय अन्य समुदायसँग अत्यन्तै प्रगाढ सम्बन्ध बनाएर बसेको छ,” देउवाले भने, “अत्यन्त मिहिनेती यो समुदायको स्वभाव हो ।”