११ अर्ब ५२ करोड विदेशी बैंकमा सरकारको शेयर लगानी
२ वैशाख काठमाडौं । विदेशी संस्थामा सरकारले ११ अर्ब ५२ करोड संस्थागत शेयर लगानी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार सरकारले बहुराष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरू स्थापना हुँदादेखि त्यस्ता संस्थाहरूसँग सम्झौता गरी शेयर लगानी गर्दै आएको छ ।विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, सार्क विकास कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकमा सरकारले लगानी गरेको छ । ती संस्थाहरुमा २०८० असारसम्म अवधिसम्म सरकारको ११ अर्ब ५२ करोड रुपैँयाँ बराबरको शेयर लगानी रहेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानूनमा सरकारले गर्ने शेयर वा ऋण लगानी सम्बन्धमा स्पष्ट एवं विस्तृत व्यवस्था रहेको देखिँदैन भने लगानीका सिद्धान्त र आधारका सम्बन्धमा समेत स्पष्ट नीतिगत व्यवस्था रहेको छैन ।विनियोजन ऐनमा शेयर वा ऋण लगानीको विनियोजन गरिएको रकमका आधारमा हुने गरेको छ । बजेटमार्फत हुने यस्ता लगानी व्यवस्थित बनाउन सरकारले शेयर तथा लगानी नीति २०८१ जारी गरेको छ । उक्त नीतिमा विदेशमा सरकारले गर्ने लगानीका बारेमा समेत उल्लेख छ ।
बहुराष्ट्रिय निकायदेखि व्यक्तिलाई सिधै ऋण लगानी भने सरकारले नगर्ने नीति लिएको छ । त्यस्तै, स्वदेशी वा विदेशी धितोपत्र बजारका लगानी उपकरणहरूमा समेत सरकारले लगानी नगर्ने सरकारले जारी गरेको शेयर तथा लगानी नीतिमा उल्लेख छ ।
नेपाल सरकारबाट हुने शेयर तथा ऋण लगानीको स्वामित्व नेपाल सरकार, अर्थ मन्त्रालयको नाममा कायम गरिएको छ । यसअघि विभिन्न मन्त्रालय, विभाग र कार्यालयको नाममा कायम रहेको शेयर तथा ऋणको स्वामित्व अर्थ मन्त्रालयको नाममा कायम गरिएको छ ।विकास साझेदारसँग भएको सम्झौताबमोजिम बाहेक वैदेशिक ऋण वा अनुदान सहायताको स्रोतबाट कुनै व्यावसायिक निकाय वा कम्पनीमा शेयर तथा ऋण लगानी गरिने छैन ।