मेरो कार्यकालमा सन्तुलित सम्बन्ध थियो – प्रचण्ड
२ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय पनि भएको बताएका छन् ।मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू नेतृत्वको सरकार हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनता र जनताको पक्षमा धेरै काम गरिरहेको बताए ।‘मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो । थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए,’ प्रचण्डले भने ।साथै, उनले संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्मेलन लगायतका मञ्चमा आफूले बलिाये उपस्थिति समेत जनाएको प्रचण्डको भनाइ थियो ।
‘अन्तर्राष्ट्रिय क्षेत्रमा चाहे त्यो संयुक्त राष्ट्रसंघको कुरा गरौं, चाहे जलवायु परिवर्तनको कुरा गरौं, चाहे अन्तर्राष्ट्रिय सम्मेलनको कुरा गरौं हामीले नेपाल र नेपालीको पक्षमा,’ प्रचण्डले भने, ‘र, त्यतिबेला नेपाल ४७ देशको अध्यक्षको भूमिकामा थियो । मैले ४७ देशको अध्यक्षको नाताले पनि सबै गरिब देशको समस्यालाई राष्ट्रसंघमा राख्ने र नेपाली जनताको इज्जत र प्रतिष्ठालाई उठाउने काम भएको थियो ।’राम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो ।
‘यसरी भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरूबाट बाहिर जान बाध्य पारियो,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।उनले एकजुट भएर अघि बढ्दा देशबाट भ्रष्टाचार निर्मुल पार्नसक्ने पनि बताए ।‘तपाईं, हामी एकजुट भएर अघि बढ्यौं भने भ्रष्टाचारीलाई यो देशबाट निर्मुल गर्न सकिन्छ,’ प्रचण्डले भने ।