सात दिनभित्र दर्ता नभए मेटामा प्रतिबन्ध लगाउँछौँ – सञ्चारमन्त्री
१२ वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटकपटक सूचना जारी गरे पनि नमानेको बताए ।
तेस्रोपटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै उनले अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मेटाले नेपालमा दर्ता भएर कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।
“मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ?,” उनले भने ।उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टकमात्रै दर्ता भएको पनि जानकारी गराए ।