न्यादी हाइड्रोपावरको सेयर बेच्न बीपीसीलाई सेबोनको रोक


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०८२
1.6K
SHARES

३ जेठ काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी)लाई न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर बिक्रीमा रोक लगाएको छ ।

बीपीसीका सञ्चालक न्यादी हाईड्रोपावरमा पनि सञ्चालक रहेको कारण देखाउँदै सेयर बिक्री गर्न नमिल्ने सेबोनले स्पष्ट पारेको छ ।
बीपीसीले न्यादीको सेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम (१क) विपरीत हुने सेबोनले स्पष्ट पारेको छ ।

सेबोनले कम्पनीको धारणासहित यथार्थ विवरण पेस गर्न र हाललाई उक्त सेयर बिक्री गर्ने कार्य स्थगन गर्न बीपीसीलाई निर्देशन दिएको छ ।

नयाँ आयोजनामा लगानी जुटाउन बीपीसीले न्यादीमा रहेको ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने योजना अघि सारेको थियो । न्यादीमा बीपीसीको एक करोड सात लाख ५१ हजार ४५३ कित्ता सेयर रहेको छ । सेयर बिक्रीबाट प्राप्त रकम तीन ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने योजना बीपीसीको थियो । सेयर बिक्री गर्न सेबोनले स्वीकृति नदिएपछि थप लगानी जुटाउन बीपीसीलाई चुनौती देखिएको छ ।

कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । न्यादी बीपीसीको सहायक कम्पनी हो ।