यी हुन् मन्त्रिपरिषद्का निर्णय


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ११ २०८२
1.4K
SHARES

११ असार काठमाडौं । सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा असार ९ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तावमा उक्त आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाली सेनाका दुई महासेनानीको पदावधि थप गर्ने, एक सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुई उपरथीको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले अन्तराष्ट्रियस्तरको भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिएको छ । त्यस्तै, राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्ने र तथ्यांक प्रणाली विकासका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीति स्वीकृत गरिएको प्रवक्ता गुरुङले बताए ।

प्रवक्ता गुरुङले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले समिति बनाएको भन्दै समितिलाई विश्वास गर्न प्रतिपक्षी दललाई आग्रह गरे । समितिले निर्वाध रूपमा काम गर्न सक्ने वातावरण बनाउनका लागि सबैले सकारात्मक सुझाव दिनुपर्ने उनले बताए ।

असार ९ गते बसेको मन्त्रीपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सह–सचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ गठन गर्ने निर्णय गरेको थियो ।