उपलब्धिलाई उल्ट्याउने प्रवृत्तिको पुनरावृत्ति हुँदैछ -प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १७ २०८२
1.5K
SHARES

१७ असार काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरेका छन् ।

वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘वाईसीएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो, प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो । पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक छ ।’

संविधान र जनताको रगत-पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा रहेको प्रचण्डले औंल्याए ।

उनले भने, ‘यथास्थिति उल्ट्याउने प्रतिगमनको प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद ग¥यौं । अहिले पनि त्यो प्रवृत्ति जारी छ । युवा आन्दोलनको इतिहास जनताको समस्या समाधान गर्दै अघि बढेको हो । भित्र र बाहिर अहिले जटिल परिस्थिति छ, जुन जनयुद्धका समयमा पनि भोगिएको थियो । त्यसमा नेतृत्व र विचारको रक्षामा वाईसीएल एकताबद्व भएर लाग्न जरूरी छ ।’

प्रचण्डले वाईसीएलसँग जनताका समस्या समाधान गर्ने संघर्षमा सधैं अग्रपङ्क्तिमा रहनुपर्ने अपेक्षा व्यक्त गरे ।वर्तमान अवस्थामा वर्गसंघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै उनले विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

प्रचण्डले थपे, ‘महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो । तपाईंहरुले संगठन निर्माणमा जुझारु भूमिका खेल्नुस् ।’