मलाई पार्टीले स्पष्टीकरण सोधेको छैन, आरोपको प्रतिवाद गर्छु – रामकुमारी झाँक्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १९ २०८२
1.5K
SHARES

१९ असार काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको दाबी गरेकी छन् । बिहीबार पार्टी कार्यालयमा पुगेकी झाँक्रीले स्पष्टीकरणको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विषय निराधार रहेको बताएकी हुन् ।आफूले एउटा कार्यकर्ता भेलामा बोलेका विषयलाई लिएर पार्टीको ध्यानाकर्षण भएर निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिकरूपमा प्रतिक्रिया नदिएको उनको भनाइ छ ।

तर, पार्टीका ठूला नेताले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसाबले प्रतिवाद गर्ने झाँक्रीले बताइन् । उनले आफूले बोलेका विषयमा बैठकमा धारणा राख्ने बताइन् ।

स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमै आफूले बोलेका विषयमा स्पष्ट पार्ने मौका दिन आग्रह गर्दै उनले निवेदनमा दिएकी छन् ।नेतृ झाँक्रीले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेलामा समयअगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।