खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम भयो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १९ २०८२
1.7K
SHARES

१९ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन् ।बिहीबार काठमाडौंमा ‘समाजवादी दर्शनको रूपरेखा’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले निजामती विधेयकमा भएको ‘चलखेल’बारे देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचिएको टिप्पणी गरे ।”हामीले हिजो जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा भन्थ्यौँ– संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो । …अहिले समितिका प्रतिवेदनहरूमाथि भएका छेडखानी त्यो त्यस्तै हो । देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेच्ने गरिएको छ भित्रभित्रै । त्यस्तै चिज चलिराखेकै छ,” उनले भने ।

उनले आफू सरकारमा रहँदा प्रत्येकपटक समाजवादतर्फ नै लैजाने बल गरेको जिकिर गरे । प्रचण्डले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गरे । नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिस्टहरूले नै सुरु गर्नुपर्ने बताए ।