नेपाल औषधि लिमिटिडसँग औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
२७ असार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल औषधि लिमिटिडले उत्पादन गर्ने औषधिहरू जिटुजी माध्यमबाट खरिद गर्नेगरी सम्झौता गर्ने तयारी गरेको छ।शुक्रबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यसबारे जानकारी गराइएको हो।
गत असार १८ गते गरेको नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा शुक्रबार समितिको बैठकमा छलफल भएको हो।छलफलका क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति तथा योजना अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल औषधि लिमिटेडसँग त्यहाँ बन्ने औषधिहरू जिटुजी मोडलमा खरिद गर्नेगरी एमओयू गर्ने तयारीमा रहेको बताए।
उनले औषधि बनाउने ठाउँमै गुणस्तर नभए स्वस्थपरक औषधि दिन नसकिने बताए। अनुगमन नभएका कारणले पनि गुणस्तरमा सुधार आउन नसकेको अवस्थाहरू रहेको जिकिर गरे।
उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल औषधि लिमिटेडसँग त्यहाँ बन्ने औषधिहरू जिटुजी मोडलमा खरिद गर्नेगरी एमओयु गर्ने तयारीमा पनि रहेको छ। त्यहाँ गुणस्तर भइदिएन भने हामी नेपालीहरूले कसरी स्वस्थपरक दिनसक्छौँ। जीवनजलमा इस्यु हुनसक्छ। बन्ने ठाउँमा नै गुणस्तरीय भएन भने समस्या आउँछ।’