हेटौँडामा प्रहरी अस्पताल शिलान्यास


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२
1.8K
SHARES

३१ असार हेटौँडा । हेटौँडामा प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा मंगलबार बिहान प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माणको शिलान्यास गरिएको हो ।हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा बागमती अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गरेका हुन् । अस्पताल शिलान्यासपछि मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लाभान्वित हुने बताए । प्रदेशको सुरक्षाको विषयमा सरकार गम्भीर रहेकाले नागरिक तथा प्रहरीलाई लक्षित गरेर अस्पताल निर्माण थालिएको उनले बताए ।

बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने आयोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभागको कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ, पार्किङलगायतका अस्पतालका संरचनाहरु पहिलो चरणमा बन्नेछ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल बनाउने योजना अनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल निर्माण थालिएको हो ।

आगामी २०८३ पुस १८ गतेभित्रमा सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

अस्पताल भवनको पहिलो चरणको निर्माण पूरा भएपछि अन्तरङ्गसँगै बहिरङ्ग सेवा सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले बताए ।हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौँडा १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।