देशलाई असफल बनाउनेतर्फ सरकार अग्रसर छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.3K
SHARES

१ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ अगाडि बढेको आरोप लगाएका छन् ।बिहीवार ललितपुरमा ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ ।’

प्रतिपक्षले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी उनले दिए ।उनले थपे, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन ।’

प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताए ।‘देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ,’ उनले भने ।प्रचण्डले थपे,  ‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।’उनले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरू विरुद्ध सफलता हात पार्नसक्ने बताए ।