विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ – एमाले
४ साउन काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको जनाएको छ ।एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिटब्युरो बैठकको बारेमा जानकारी गराउँदै भने, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ ।”एमालेको विधानको धारा ८मा सदस्यता त्याग गरेको व्यक्तिको नवीकरण हुन नसक्ने उल्लेख गरिएको उनको धारणा थियो ।धारा ८ मा पार्टी सदस्यताको समाप्ति र पुनः प्राप्तिबारे व्यवस्था गरिएको छ ।जहाँ स्वेच्छाले सदस्यता परित्याग गरेको व्यक्तिको सदस्यता समाप्ति हुने र पुनः प्राप्तिसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ ।
संगठन विभागबाट कहीँ त्रुटि भएको भए पनि सच्याउन तयार भइसकेको बताउँदै उनले भने, “यो राजनीतिक विषयको कुरा हो । पूर्वराष्ट्रपतिलाई कानुनी अड्चन खडा गरेर पार्टी प्रवेश गर्न दिइँदै छैन भन्ने अफवाहमात्रै हो । उहाँलाई दिएको गौरवको अस्तित्व के हुने भन्नेमात्रै विषय हो । यो कुनै व्यक्ति विशेषको कुरा भएन । यो गणतन्त्रसँग जोडिएको विषय पनि हो ।”
पोलिटब्युरो बैठकले उमेर हदको व्यवस्था खारेज गरेको छ भने दुई कार्यकाल भन्दा बढी हुन नपाइने बुँदालाई पनि खारेज गरिदिएको छ ।जिल्ला कमिटीलाई जिल्ला समन्वयमा लैजाने कि भन्ने कुरा भएको थियो तर अहिलेलाई जिल्ला कमिटीलाई नै कार्यकारी बनाउने सुझाव आएको हुँदा त्यसैलाई पारित गरिएको उनले जानकारी दिए ।विशेष गरी बैठकमा भण्डारीको सदस्यता नवीकरण कि पुनः लिनुपर्ने भन्ने विषय गम्भीररुपमा उठेको हुनाले अझ ठूलो फोरममा छलफल गर्ने निष्कर्ष निकालिएको उनले बताए ।