अत्यावश्यक बाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
४ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन् । उहाँले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन् ।जल तथा मौसम विज्ञान विभागले आइतबार (साउन ४) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन उनले अनुरोध गरेका हुन् । विभागले जारी गरेको विवरण प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गर्दै सचेत रहन आग्रह गरेका हुन् ।
“शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।