मसँग ब्याकअप छ – पूर्वराष्ट्रपति भण्डारी


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
1.4K
SHARES

७ साउन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले केन्द्रीय कमिटी बैठक चल्दाचल्दै मंगलबार केही संवाददाता भेटेकी थिइन् । त्यहाँ उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहेको आभास पहिलेदेखि नै मिलेको, तर अहिले स्पष्ट भएको भन्दै आफू चुप लागेर नबस्ने चेतावनी दिएकी थिइन् । मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले उनै भण्डारीलाई एमालेको राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिदियो । केन्द्रीय कमिटीको उक्त निर्णयलाई भदौमा बस्ने विधान महाधिवेशनबाट अनुमोदन गराउने पार्टी योजना छ ।

बुधबार बिहान केही निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र साझा गर्ने बताइन् । भण्डारीले आफूहरुसँग भनेको उद्धृत गर्दै एक निकट नेताले भने, ‘हामी लागेर बनाएको पार्टी हो, तर अध्यक्षले जुन शैली देखाउनुभयो, त्यसले पार्टीलाई निराश बनाउने बाहेक केही गर्दैन । यो पार्टीमा कोही एउटा मात्र नेता छैन, जनताको बहुदलीय जनवादको स्पिरिट कुनै व्यक्तिविशेषलाई मात्रै मान्ने भन्ने हुँदै होइन । मसँग ब्याक अप नै छैन भन्ने होइन । म ब्याक अपविना बसेकी छैन । मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस् । म केही दिनमै बोल्छु ।’