पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने अवस्थामा पुर्याउने रहेछन् – उषा किरण
७ साउन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरणले नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयबाट आफू अचम्मित नभएको प्रतिक्रिया दिएकी छन् ।एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत उषाले एमालेको निर्णय र त्यसमा पुग्न गरिएका ‘तिगडम’प्रति आफू अचम्मित नभएको बताएकी हुन्
मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उषाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई ‘प्रकरण’को संज्ञा दिएकी छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भ जोड्दै उनले लेखेकी छन्, “मलाई उहिले लाग्थ्यो, किन उहाँ (पुष्पलाल)को परिवार नेकपा (एमाले)प्रति नैतिक समर्थन दिन पनि देखिने गरी प्रस्तुत हुँदैन ? हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि पार्टीको समर्थनमा देखिने गरी उभिनू, नैतिक समर्थन गर्नू, टाढा नजानू भनेर भन्नुहुन्थ्यो ।”
तर, पछिल्लो घटनाक्रमबाट आफूले नयाँ अनुभूति गरेको उनको भनाइ छ । “विगतको एक महिनादेखि मलाई ज्ञान भयो– नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन् । र, तिनीहरूलाई नैतिक समर्थन चाहिँदैन पनि रहेछ । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद !”