अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन कांग्रेस सांसद पन्तको माग


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ११ २०८२
2.4K
SHARES

११ साउन काठमाडौं । नेपाली काँग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी पनि गरिन् ।राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको बताइन् ।

“अहिले हाम्रो देशको प्रमुख समस्या सुशासन हो । यसले सदाचारिताको संस्कृतिलाई मार्दै गयो । र भ्रष्टाचार तथा अनियमिततालाई प्रोत्साहन गर्दै गएको छ । त्यसैले अहिलेको समस्याप्रति म केही ध्यानाकर्षण गराउन चाहन्छु । राज्यका प्रमुख अंगहरुप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्ँिकदै गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ । सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन । अविश्वास बढेको छ । सेवाग्राहीले सेवा सहज ढंगले प्राप्त गरेको अवस्था छैन । र टेबुलमुनिबाट कारोबार हुन्छ रे भन्ने पनि सुन्नमा आएको छ । यो एउटा गम्भीर समस्या हो,” उनको भनाइ थियो ।
सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन् ।दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गरेकी हुन् ।